Sunday, April 10, 2011

रुकुमका साथी

सन्तोष शर्मा 
केही दिनअघि मलाई पश्चिम नेपालको रुकुम जिल्ला घुम्ने अवसर मिलेको थियो । सबैलाई थाहै छ- माओवादी पार्टीले रुकुम/रोल्पा जिल्लाबाट सशस्त्र विद्रोह सुरु गरेको थियो ।
रुकुम पहाडी जिल्ला हो । त्यहाँ भर्खर मोटरबाटो बन्न थालेका छन् । दिनभर हिँडेर हामी स्यार्पु भन्ने ठाउँ पुगेका थियौं । स्यार्पुमा ठूलो अनि सुन्दर दह रहेछ । दहको नाम स्यार्पुदह । ४५ मिटर गहिरो छ रे यो दह । कत्ति गहिरो है ! सुन्दै डरलाग्दो । पौडी खेल्न नजान्दा यस्तो डर लागिरहँदो रहेछ । दह साढे २ वर्गकिलोमिटरमा फैलेको रहेछ । हामी पुगेको झन्डै एक महिनाअघि यही स्यार्पुदहमा ठूलो महोत्सव भएको थियो । सजावट सामग्री अझै देखिन्थ्यो वरपर ।
हामी धेरैबेर दहवरिपरि घुमिरह्यौं । फोटो खिचायौं । एउटा डुंगा रहेछ । हाम्रो समूहका आधाजति साथीले डुंगा पनि चढ्न भ्याए ।

हिँडेर धेरै टाढा पुग्नुपर्ने भएकाले हामीसँग समय कम थियो । त्यसैले हामी केहीले भने डुंगासयरलाई माया मार् यौं । बरु मैले दहनजिक केही नयाँ साथी भेटेँ- टण्डन मल्ल कमल मल्ल नन्दराम देवकोटा र जनक मल्ल ।
उनीहरुको परीक्षा चलिरहेको थियो त्यतिखेर । परीक्षा सकाएर यस्सो टहल्न दहवरिपरि आएका रहेछन् । त्यो दिन नेपाली विषयको परीक्षा रहेछ । सबै साथीले परीक्षा राम्रो भएको सुनाए । भोलिपल्ट विज्ञानको परीक्षा थियो ।
टण्डन नन्दराम र जनकको उमेर ८ वर्ष । टण्डन र जनक दुई कक्षामा पढ्छन् भने नन्दराम तीन कक्षामा । कमलको उमेर ९ वर्ष र उनी दुई कक्षामा पढ्छन् । मैले उनीहरुका अनुभव र रुचिबारे केही कुरा गरेँ ।
उनीहरुले एकदुई चोटि मात्र मोटर चढेका रहेछन् । मोटरमा बस्दा साह्रै रमाइलो लाग्छ रे । नन्दरामलाई मोटर हुइँकेको मनपर्छ रे । 'अनि घ्याच्च रोकिँदा मज्जा आउँछ,' उनले भने । त्यस्तै खेल्ने कुरामा उनीहरुको उस्तै धारणा रहेछ । गुच्चा डन्डिबियो चिट्टा सलाईको टुक्रालाई हिर्काएर खेलिने खेल्दा रहेछन् उनीहरु ।
टाढामा उनीहरु बाआमासँग त्यही जिल्लामा रहेको मामाघरसम्म पुगेका रहेछन् । कोही मोटरमा त कोही हिँडेरै । टण्डन बखाउँसम्म पुगेका रहेछन् । कमल हिङसम्म । नन्दराम डम्मनासम्म । जनक सिम्रुतसम्म ।
टण्डन र कमललाई भात मिठो लाग्छ रे । नन्दरामलाई जुल्फी र जनकलाई स्याउ । खाजामा उनीहरु रोटा भात दुध दही मोही सिस्नुको तरकारी खाँदा रहेछन् । सिस्नुले त पोल्छ ! तर पकाएको सिस्नु मिठो पो हुन्छ ! अनि यो खान्की साह्रै गुणकारी पनि हुन्छ ।
टण्डनले डाक्टर बन्ने उद्देश्य रहेको सुनाए । कमल पुलिस हुने रे । नन्दराम बाइक चलाउने रे । जनक हेलिकप्टर उडाउने रे ।
हामीलाई हिँडेर धेरै टाढा पुग्नु थियो । त्यही भएर कुरा छोट्याउँदै यी साथीहरुसँग बिदा भएँ ।

बिहानको आठ बजेको छ । हामी छौं रुकुमकै काँक्री चौतारा भन्ने ठाउँमा । चिसो डाँडामा न्यानो घाम लागेको छ । बिहानै दामाहा बजेको सुनेर के रहेछ त भनी हेर्न निस्केका थियौं हामी ।
तीन जना साथी दमाहा ठोक्दै रहेछन् । गाउँभरिका केटाकेटी झुम्मिएका थिए । गाउँमा आएका पाहुनालाई बिदाइ गर्ने कार्यक्रमको रिहस्रल गर्दै रहेछन् उनीहरु ।
यस्सो हेरेँ- उनीहरुको जिउ मैलो छ । राम्रो नुहाइधुवाइ सरसफाइ पनि छैन । लुगा पनि त्यस्तै छन्- पुराना र फाटेका । गाउँका सबै साथीको हालत त्यस्तै रहेछ । गरिबी र सरसफाइबारे चेतना नभएका कारण त्यसो भएको हुन सक्छ । रेडियोतिर सुन्थेँ- हात धुनुपर्छ र सरसफाइमा ध्यान दिऔं भन्ने विज्ञापन । यस्तो साधारण कुरा के भनिरा होला जस्तो लाग्थ्यो मलाई । तर ती विज्ञापन यस्तै गाउँले साथीका लागि हुन् भन्ने बल्ल बुझ्दैछु ।
तैपनि उनीहरुसँग कुरा गरेँ । जयमान नेपालीलाई आफ्नो उमेर थाहा छैन । उनी स्कुल पनि जाँदैनन् । बाबुआमा छैनन् । 'अर्काकोमा ग्वाला(गोठालो) काम गर्छु,' उनले भने ।
निसमठ नेपाली आठ वर्षका भए । उनी दबाङ स्कुलको एक कक्षामा पढ्छन् । स्कुल पुग्न आधा घन्टा हिँड्नुपर्छ । स्कुल जाने तीनजना साथी छन् उनका । तर यही थोत्रोमैलो लुगा लाउँछन् । विद्यालय पोसाक किन्ने पैसा छैन रे ।
हितकुमार नेपाली सात वर्षका रहेछन् । शिशुकक्षा जान थालेका रहेछन् भर्खर । स्कुल जानेहरुले कखगघ अआइई एबिसिडी पढ्न थालेका छन् । उनीहरु भन्छन्, 'बजाउनभन्दा पढ्न नै राम्रो ।' पाए पढाइमात्र गरेर बाजा बजाउन छाड्ने उनीहरुले धारणा राखे ।
मैले उनीहरुलाई वाद्यवादन र पढाइलाई सँगसँगै अघि बढाउन सल्लाह दिएँ । किनकि बाजा हाम्रो संस्कृति पनि त हो । यसलाई मर्न नदिनु हाम्रो कर्तव्य हो । पुरानो पुस्ताले नयाँलाई सिकाउँदै जानुपर्छ । पढाइ सकिएपछि यसैलाई पेसाका रुपमा विकास गर्न सकिन्छ ।
गाउँमा शिक्षा स्वास्थ्य सरसफाइबारे त्यति राम्रो चेतना भएको पाइनँ मैले । गाउँमा कुनै पनि बेला सरुवा रोगले आक्रमण गर्न सक्छ । स्थानीय ५० वर्षे ढुटे नेपालीले भने ुगाउँका केटाकेटी दुःखी छन् । बाबु मरेका आमाले छोडेर हिँडेका बच्चा धेर छन् । कतिपय अर्काकोमा काम गर्न बसेका छन् ।'
ढुटेका अनुसार यहाँका अभिभावक धेरै सन्तान जन्माउँछन् । पहिले पहिले रेडियोबाट खुब बज्ने विज्ञापन 'दुई सन्तान ईश्वरको वरदान' यहाँ अझै सान्दर्भिक हुन सक्छ ।
(नागरिक जूनकीरीबाट)

sharmasantosh@gmail.com

2 comments:

  1. yatra anubhuti suchana mulak ta hunchha nai,sathma ti thaunka fotaharu pani thapiyeka bhaye ajha ramro hunthyo ki?

    sumi sayemi

    ReplyDelete
  2. Gazzab anubhuti, I wish I'd do the same in near future!

    ReplyDelete