सन्तोष शर्मा
घाम छिप्पिँदै गर्दा काँक्री छोड्यौं हामीले। काँक्री रुकुमको पहाडी बस्ती। हामीलाई बाग्लुङको ढोरपाटन पुग्नु थियो। दुई दिन ठमठम हिँड्ने साहस बोकेर चार जना लम्केका थियौं। हामीसँग साथी आएका थिए- काँक्रीका पृथ्वीबहादुर बुढामगर। चिटचिट पसिना काढ्दै बाकम, चिप्लेगैरा, ढक्रीबिसौना, मुन्दागैरा, गम्बीसौना, रिक्काछेरा जस्ता ठाउँ पार गर्यौं। उकालै उकालो। आहा, हिउँ देखियो! मन अलि सितल भयो तर जति उकालियो उति शरीरबाट पसिना बग्थ्यो।
रिक्काछेरा ३२ सय मिटर उचाइमा छ रे, पृथ्वीबहादुरले भनेका। त्यसपछि ओरालो सुरु भयो। ठाडो भीरमा घुमाउरो शैलीको गोरेटो कोरिएको रहेछ। हिँड्दा सन्तुलन नमिले गुल्टिने डर! तर लौरोको सहारा थियो।
लामो हिँडाइमा लौरो साँच्चिकै साथी बन्ने रहेछ। के उकालो, के ओरालो, के सम्म, हिँड्न निकै सघाउने रहेछ। तर खुट्टाको दुखाइ के मर्थ्यो? झन् ओरालो झर्दा घुँडा दुखेर हैरान।
अगाडिको सम्म ठाउँ देखेर मन अलि हल्का भयो। त्यो त किङवाङ उपत्यका रहेछ। किङवाङको अर्थ- माथि सरेको चौर!
त्यही चौरमा राम्रो स्याउ फल्छ रे सिजनमा। स्थानीयले सुनाए- माथि डाँडामा भुमेथान छ। वैशाख पूर्णिमामा वराहपुजा मेला लाग्छ।
फलनई, दिख्यु जस्ता ठाउँ टेक्दै गयौं। कति रमाइला हुन् डाँडा! कतै घाँसे डाँडा, कतै कोन आकारका रुखै रुखको जंगल। लौन नि, हिमालै पो देखियो!
अल्लि अघि हिउँ देखिनुको रहस्य बल्ल थाहा भयो- नजिकै चौरी हिमाल रहेछ। हाम्रो गोरेटोपारि दुई सुन्दर गाउँ देखिए- बाहिगाउँ र टकगाउँ। सकेसम्म बाटो घटाउने नीति लिएका हामी भने तल्लो सेरा, उपल्लो सेरा हुँदै हिँडिरह्यौं।
घडीले रातको आठ बजाउँदा बास बस्ने ठाउँ पुगियो। आकासको जून र हामीछेवैको हिमाल 'को बढी चम्किलो' भन्दै प्रतिस्पर्धा गरिरहेझैं लाग्थ्यो। हिमालकै काख रहेछ दमचन गाउँ। घन्टौंको हिँडाइले असिनपसिन हाम्रो शरीरले आराम गर्न पायो।
त्यहीँ होमस्टे शैलीको बसाइ भयो हाम्रो। भात पकाउन लगायौं। अगेनामा आलु पोल्यौं। साउनी दिलकुमारी बुढा ससुरा र आमाजुसँग होटल र घर चलाएर बसेकी रहिछन्। ३० वर्षे दिलकुमारीले भर्खर जुम्ल्याहा छोरा जन्माएकी रहिछन्। यसअघि नै चार छोरीका आमा उनी। १७ वर्षको उमेरमा पहिलो सन्तान। श्रीमान जीवन गाउँतिर काममा गएका रहेछन् त्यो दिन।
यो परिवार देश शान्तिप्रक्रियामा रहेयता स्थायीरूपले दमचन बस्न थालेको रहेछ। 'द्वन्द्वको बेला त पुरै हैरानी थ्यो नि,' दिलकुमारीले भनिन्, 'खसीबाख्रा, कुखुरा, भाँडाकुडा लुटिए। घरै फोरे नि!' दिलकुमारीका अनुसार माओवादी लडाकुले म्याग्दीको बेनी आक्रमण गर्ने क्रममा यही बाटो प्रयोग गरेका थिए। उनी सम्झन्छिन्, 'लडाकुको लस्कर दिनभर चलिरहन्थ्यो।'
खाएको पैसा लिने, सुतेको नलिने नियम दमचन जीवन होटलमा पनि रहेछ। लेबल नमिलेको माटोको भुइँमा राडी ओछ्याएर हामी चार भाइ लड्यौं। एउटा संकल्प पनि गर्यौं- अबदेखि बिहान सबेरै उठेर हिँड्ने। बरु दिउसो चर्को घाममा केही घन्टा आराम गर्ने। हुन पनि हामी थुप्रै दिनदेखि बिहानको खाना खाएर चर्को घाममा हिँडाइ सुरु गरिरहेका थियौं।
उतिबेला सशस्त्र विद्रोहको संखघोष गर्दै 'परिवर्तनका लागि' गुरिल्ला हिँड्थे यो बाटो। अहिले हामी हिँड्दैछौं। एकलास मर्पेसको जंगल। बाटामा कोही भेटिए पो! बाटोको हल्काफुल्का आइडिया लिएपछि हामीले पृथ्वीबहादुरलाई त्यही बिहान काँक्री फर्काइदिएका थियौं।
केही घन्टा हिँडेपछि बाटामा एक हुल महिला देखिए। हिमाली चिसो छल्दै बिहानी घाम तापिरहेका उनीहरू सेरा जाँदै रहेछन्। हामीलाई ढुक्क भयो- यो बाटोमा हामीबाहेक अरू पनि हिँड्छन् है!
सानी भेरीको फड्के किनाराका साक्षीझैं थियौं हामी, किनार नछोडी अघिबढिराख्ने। सुरेन्द्र राना थचथची बस्थे, 'एकछिन रेस्ट गरुम्न यार' भन्दै। प्रदीप पोखरेलको हिँडाइ गतिमान थियो। बिस्तारै हिँड्ने तर नरोकिने। लामो यात्रामा यस्तै शैली ठिक हुने रहेछ। हरि लामिछाने सधैं अघिअघि फड्किरहेका हुन्थे। म उनै हरिलाई पछ्याउने धुनमा हुन्थेँ।
एघार बजे ढोरपाटन आइपुग्यो। तातुङखोलाबाट बाग्लुङे ढोरपाटन सुरु हुने रहेछ। रुकुममा ६० र बाग्लुङमा ४० प्रतिशत फैलेको रहेछ ढोरपाटन। निसीढोरमा भिस्याट फोनवाला पसल देखियो। एउटै पसलेले होटल पनि चलाएको। त्यहाँ आलु उसिन्न लगायौं। चिया पियौं। भिस्याटको उपयोग गर्दै सुरेन्द्र भने कतै छुटेको आफ्नो ऊनीटोपीबारे सोधखोज गर्न थाले। हामीले उनलाई सम्झायौं- टोपी किन्न पुग्ने पैसा किन फोनमा खर्चेको? उनले सुने पो! तर पछि उनले स्पष्टीकरण दिए- त्यो हातबुना टोपी विशेष साथीको उपहार थियो।
अलिक पर देखियो एउटा ठाडोखोला। तर पानी त पुरै जमेको! जमेको खोला देख्दा मन सारै रमायो। मैले त यस्तो कहिल्यै देखेको थिइनँ। जमेको खोलामा खेल्न र चिप्लिन हामी पुलबाट ओर्लियौं।
वरपरका अग्ला डाँडाका टुप्पामा देखिन्थे हिउँको सिन्दुर। दक्षिण फर्केका प्रायः डाँडा नांगो देखिन्थ्यो। कतिपयमा त चट्टानमात्र। सायद कुनै समय यी चट्टान हिउँले पुरिएका हुन्थे।
...
पाटनमा सयौं भेडा चराइरहेका गोठालाहरू भेटिए। तीसँगै भेडा सुरक्षाका लागि भोटे कुकुर पनि हुन्थ्यो। साढे ३ बजे भुजीमा खाना खान रोकियौं। छेवैको खोलामा नुहाइधुवाइ पनि गर्यौं।
सुरेन्द्र त्यहीँ बसौं, आराम गरौं भन्दैथे तर हामीले भोलिको दुई घन्टा बाटो छोट्याउन भए पनि हिँडौं भन्ने अड्डी लियौं।
नबी हुँदै उत्तरगंगामा बास बस्ने योजना बन्यो। हिँड्दै गर्दा सुन्दर ढोरपाटन उपत्यका देखापर्यो। वरिपरि पहाडै पहाड। कतै बाक्लो हिउँ कतै पातलो। कतै घना जंगल कतै नांगो डाँडो। उपत्यकामा बढ्दैरहेछ बस्ती। मलाई भने बीस वर्षअघिको काठमाडौंजस्तै लाग्यो उपत्यका। समयमै राम्रो प्लानिङ गरिएन भने यो उपत्यकाले पनि काठमाडौंकै कुरुपता अँगाल्नेछ। ढोरपाटनको सौन्दर्य घनघोर बिग्रनेछ। बाटो सोध्दा एक स्थानीयले भनेका थिए, 'सर, जग्गा चाहिएको हो? ल, रोपनीको छ लाखमै।'
वारि उत्तरगंगा, पारि स्यालापाखे। हिउँ भरिएको डाँडोलाई सुर्तीबान लेक भन्दारहेछन्। त्यही लेक रुकुम र डोल्पाको साँध रहेछ। ढोरपाटन आरक्षमा नाउरको सिकार गर्न पाइन्छ। राजस्व शुल्क चर्को भएकाले प्रायः विदेशीमात्र आउँछन्। एकचोटिमा ३-४ वटा समूह सिकारका लागि आउने नबीका नन्द सुनारले बताए। 'ती पनि हवाइजहाजबाट आउँछन्,' सुनारले भने। तर सिकार खेल्ने ठाउँका बारे स्थानीयलाई त्यति जानकारी रहेनछ।
पौने सातमा उत्तरगंगा पुगियो। एउटा घरमा बास माग्यौं। तीन महिलाले होमस्टे शैली बास चलाएका रहेछन्। चिसो ठाउँ तर छोटो खाट र ओढ्नेले अलि अप्ठेरो पार्यो। तर ट्वाइलेट सोद्धा घरधनीले अन्यत्रजस्तो जंगल देखाइदिएनन्। जस्तो भए पनि ट्वाइलेट बनाएका रहेछन्।
...
हामीलाई आज बोवाङ पुग्नु छ। त्यसैले बिहान साढे सातमा निस्क्यौं। आहा, आज त असरल्ल मान्छे भेटिए बाटामा। बिहानीको सितसँगै सुन्दर उपत्यकालाई बिदा गर्यौं। ठाउँठाउँ हिउँ जमेको। पानी पोखिएजस्तो लाग्ने माटोमा पनि हिउँ, सिसाजस्तो।
बाटोमा मिठो संगीतजस्तो तिरिङ तिरिङ आवाज सुनियो। परबाट खच्चडको लस्कर आउँदै रहेछ। घाँटीमा घन्ट र ढाडमा भारी। महिला-पुरुष र वृद्धवृद्धासमेत ढाडमा बिजुलीको पोल बोकेर उकालो लाग्दैथे। ३५ किलो हुन्छ रे एउटा पोल। मान्नैपर्छ तिनको बल, जो नाम्लोलाई थाप्लामा अड्याएर पोललाई ढाडमा तेर्स्याई बोक्छन्। उनीहरू गाउँमा बत्ती बाल्न श्रमदान गर्दैरहेछन्। चिसो ढोरपाटनमा बिजुली बाल्न छ कोस टाढा बोवाङबाट पोल बोक्नेको लर्कोमा थिए- ६० वर्षे धनबहादुर अढाई पनि।
पशुहरूलाई लेक लैजानेको लर्को पनि सँगै थियो। लेकमा आलु लगाउने र छ महिना वस्तुभाउ चराउने गर्छन् उनीहरू। फेरि वस्तु बेसी ल्याउँछन्। 'अहिले आलु रोपिएन भने तरकारी खान पाइँदैन,' बाटामा भेटिएकी सानु घर्ती मगरले सुनाइन्।
दिउसो १२ बज्दा बवाङ पुगियो। खुट्टा दुखेर हैरान थिएँ। बुर्तिवाङ जाने जिप १-२ वटा चल्ने रहेछ। हामी आउँदा आउँदै एउटा छुटेछ। फसाद, राति नभई फर्कन्न रे! के गर्ने अब? कि हिँड्नुपर्यो कि त्यहीँ बास बस्नुपर्यो। एक व्यापारीले ट्र्याक्टर चढ्न सुझाए।
नयाँ अनुभवका लागि हामीले त्यही मालबाहक ट्र्याक्टरमा उक्लने निधो गर्यौं। ट्र्याक्टरको खœयाकखœयाक एकघन्टा खप्यौं। बाटोमा विपरीत दिशाबाट आउने गोरुभैंसीहरू डराएर रोकिन्थे, पछाडि फर्केर पुच्छर ठाडो पार्दै भाग्थे। र, एकछिनमा कुद्दै अघि बढ्थे। मानौं ट्र्याक्टर तिनको ठूलै शत्रु हो र त्यसले आक्रमण गर्छ। ट्र्याक्टरमा बस्ने हामीलाई पनि त डर थियो! टाउको ठोकिएला भनेर डन्डीमा बलियो गरी समात्यौं। एक घन्टामा बुर्तिवाङ आइपुग्यो। एकजनाको एक सयका दरले भाडा तिर्यौं। बाटोमा खाएको धुलोको त हिसाबै भएन। यस्सो ओर्लेर हिँडेको त दुखेका खुट्टा सब ठिक भएछ। धन्यवाद ट्र्याक्टर!
झुप्प झुप्प दुइटा बस्ती रहेछन् बुर्तिवाङमा- पुरानो र नयाँ। पुरानोमा झुप्राझुप्री र ससाना घर रहेछन्। देश शान्तिप्रक्रियामा गएयता बनेको नयाँ बस्ती भने निकै नै बाक्लिसकेछ। त्यहाँ ठुल्ठुला घर पनि बनेका रहेछन्। हामीले त्यही नयाँ बस्तीको थकाली भान्सामा खाना खायौं र उसकै लजमा सुत्यौं। काठमाडौंका लागि बिहान साढे आठमा छुट्ने गाडीको टिकट काट्यौं।
रिडी नपुगेसम्म कच्ची र साँघुरो बाटो। ७० किलोमिटर। १० किलोमिटर गुड्न एक घन्टा। घोडेटोजस्तो बाटोभर खाल्टाखुल्टी। सिटबाट उछिट्टेको उछिट्यै भइने। हवाइजहाजमा दिइने सिट बेल्ट त यस्ता गाडीमा पो चाहिने! बस दस मिनेट के अघि बढेको थियो, एउटी महिला छुटेको खबर आयो। बस ब्याक गरेर उनलाई लिन गयो। यो ढिलाइ गर्नेलाई माफी थियो या सहृदयी भावना?
बाटामा बसले आधा दर्जन त खोलै तर्नुपर्ने रहेछ। बर्खामा के हालत हुँदो हो! 'यो त अझ सुध्रेको हो,' बस चालक ढाकाराम अधिकारीले भने, 'पहिले ते पछाडिको डबल टायरमध्ये एउटा बाटोबाहिर हुन्थ्यो।'
यी गुरुजी बिहानसम्म एक्लै गाडी हाँक्न सुर्रिएका रहेछन्, काठमाडौंसम्म। झन्डै बीस घन्टा।
सकिन्छ त?
'सकिहालिन्छ नि!'
बेलाबेला झ्याप्प झ्याप्प त निदाइँदो हो नि!
'हाहाहा... कहाँ हुन्छ निदाएर!'
यो रुटमा ७० वटा गाडी चल्दा रहेछन्। धन्य, अहिलेसम्म दुर्घटना भएको रहेनछ।
'लौ है खाना खाऊँ,' जमुना होटलअघिल्तिर गाडी रोकेर गुरुजी चिच्याए, 'टाइम आधा घन्टा मात्र।' ११ बजेको थियो। गुल्मी पनि आइएछ। भिङ्गिठी, ग्वालीचौर, खरवाङ, वामी टक्सार, इन्दिरा गौडा, मजुवा, खैरेनी हुँदै रिडी पुगियो। अनि धुलोविहीन हावाका लागि झ्यालका सिसा खोलिदियौं।
गुल्मी, पाल्पाका सुन्दर दृश्यमा भुल्यौं। पाल्पामा दहीआलुको अचार चुकाउनी खायौं। जसबारे वर्षौंदेखि सुनिदै आएको थियो। गज्जबै हुँदो रहेछ! हाम्रो गाडी पाल्पाको नागबेली सडकमा सुन्दर होचाअग्ला डाँडापाखालाई पछि पार्दै गुडिरह्यो।
(नागरिक घुमफिरबाट)

No comments:
Post a Comment