Wednesday, June 5, 2019

यसपटक हार्यौ यादव

सन्तोष शर्मा
https://www.setopati.com/blog/162966
(असार २२, २०७५ सेतोपाटी डटकमबाट)

२०७० मंसिर ४ गते दोस्रो पटकको संविधानसभा चुनाव भएको रात काम सक्दा बिहान एकै बजेको हुँदो हो। नागरिक दैनिकको कार्यालय काठमाडौं सुन्धाराबाट घर जाने क्रममा हाम्रो गाडी धुम्बाराही सडकछेउ बिजुलीको पोलमा जोतिन पुगेको थियो।
गाडीमा यादव थपलिया, , सुशील पोखरेल र मदन चौधरी थियौं। यादव अगाडि बसेका थिए। बिजुली पोल ड्राइभर र यादवबीचको चेपमा घुसेको थियो। मात्र केही इन्चले यादवको टाउको जोगिएको थियो। गाडी कुच्चिँदा उनको एउटा खुट्टा च्यापिएको थियो। बल्लतल्ल खुट्टा तानेर झ्यालबाट बामे सर्दै उनी बाहिर निस्किए। जुत्ता गाडीमै अड्कियो। उता, ड्राइभर स्टेरिङमा पेट ठोकिएर गम्भीर घाइते थिए।
तीव्र गतिको गाडी पोलमा गएर ठोकिँदा निद्रा र थकानले कायल हामीहरु सबैले आफूलाई सम्हाल्न सक्ने कुरै थिएन। कताकता ठोक्किन पुगेछौं। हातगोडामा चोटपटक लागेछन्। यादव र मदनको त टाउकोमा पनि चोट लागेको थियो।
गाडीबाट बाहिर निस्केर हारगुहार गर्यौं। सहयोग गर्न कोही निस्केन। वरपर घरभित्र बलिरहेका बत्तीसमेत निभे। नागरिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानलाई फोन गरेर घटना बतायौं। उनले प्रहरीलाई खबर गरेर हाम्रो उद्धार गर्न भनेछन्। एकैछिनमा प्रहरी भ्यान आयो र हामीलाई शिक्षण अस्पताल लग्यो।
प्रहरी आएपछि वरिपरिका छिमेकी पनि टुप्लुकिएका थिए।
अस्पतालमा केही घन्टाको जाँच र औषधिमूलोपछि हामी डिस्चार्ज भयौं।
त्यतिखेरको चोटले मलाई वर्षदिनभरि खुट्टामा पीडा दिइरह्यो। तनाव वा कामको दबाब भएका बेला त्यहीँ दुख्थ्यो, दुर्घटना हुँदा जुन ठाउँ जोडसँग ठोक्किएको थियो।
झन् यादव त राम्रैसित घाइते थिए। पछिसम्मै उनी भन्थे, ‘त्यो घटनायता म बसेको ठाउँबाट जुरुक्क उठिहाल्न, सहजै हिँड्ने कुद्ने गर्न सक्दिनँ।
त्यो दुर्घटनापछि झन्डै एक महिनाजस्तो हामी काममा फर्किन सकेनौं। घटनाको मानसिक/शारीरिक पीडा छँदैथियो, सम्पादकीय कक्षका वरिष्ठ कर्मचारी अब कति महिना काममा नआउने ?’ भन्दै घाउमा नुनचुक छर्थे। उनको आसय काममा नआई ठगीठगी खाएको भन्ने थियो।
खासमा त्यो दिन ड्राइभरलाई चौबिसघन्टे ड्युटीमा लगाइएको रहेछ। थकानले लोथ परेर बिचरा गाडी हाँक्दाहाँक्दै निदाउन पुगेको रहेछ।
फेरि कर्मचारीलाई घर पुर्याउने गाडी मारुती अम्नीभ्यान। कागजको बाकसजस्तो। सानोतिनो ठक्करमै कच्याककुचुक भइहाल्ने। घटनापछि प्रधान सम्पादक प्रतीक प्रधानले मिडिया हाउसहरूले कर्मचारीका लागि एयरब्याग सिस्टमबिनाको सस्तोमस्तो गाडी प्रयोग गर्दा जोखिम रहने टिप्पणी गरेका थिए।
त्यसपछिका दिनहरूमा व्यवस्थापनसँग हामीले एअरब्याग सिस्टमको गाडी माग्न त सकेनौं तर ड्राइभरको अवस्था र हँकाइमा खुब चासो दिने र सतर्क गराउने भएका थियौं। त्यसै क्रममा एक ड्राइभरलाई कामबाट निकालि पनि दिएका थियौं।
...

अखबारी कर्मसँगै साहित्यिक वृत्तमा समेत चिनिएका यादव पुस्तक सम्पादन पनि गर्थे। कवि थिए। कथाकार थिए।
हसमुख उनी हसिमजाक गर्थे तर काममा उत्तिकै गम्भीर थिए। समाचार सम्पादनमा पोख्त थिए। कपी डेस्क ब्युरो संयोजक थिए उनी। समाचारलाई पठनीय, स्पष्ट र रुचिपूर्ण बनाउन सिपालु थिए।
प्रधान सम्पादकले समेत आफ्नो लेख वा स्तम्भ एकपटक कपी एडिटरलाई देखाउने गर्छन्। कपी एडिटरले आवश्यक काँटछाँट र सुधारका लागि सल्लाह दिन सक्छन्। अथवा नमिलेका ठाउँमा सिलसिला, भाषा, व्याकरण वा हिज्जे मिलाइदिन सक्छन्।
यादवले सबैजसो प्रधान सम्पादकका लेखलाई तिखारेको कुरा पक्कै उनीहरू स्वीकार गर्छन्।
अझ डेस्क ब्युरो संयोजक भनेपछि प्रधान सम्पादकको सल्लाहमा अखबारको प्रथम पृष्ठको सामग्री छनोट र तिनको सम्पादनमा मुख्य भूमिका हुन्छ। अखबारको आवरणलाई कसरी झकिझकाउ बनाउने भन्नेमा पनि डेस्क संयोजकको भूमिका हुन्छ। त्यस्तै, पहिलो पृष्ठमा छापिने मुख्य तस्बिरसमेत उसैले छनोट गर्छ।
त्यस्तै, अन्य साथीले बनाएका भित्री पृष्ठ पारित गर्ने काम पनि डेस्क संयोजकले गर्छन्। यसरी अखबारमा छाया सम्पादकका रूपमा डेस्क ब्युरोले काम गरेको हुन्छ।
समय र मेहनत जति लागोस्, तर छाप्नुपर्ने सामग्री तिखारेरै छाड्थे यादव। शीर्षक पनि असाध्यै मीठो र चोटिलो राख्थे। जस्तो, एकपटक अमेरिकामा थुप्रै बालबालिकाको गोली प्रहारबाट हत्या हुँदा तयार गरिएको समाचारमा उनले शीर्षक चुँडिए कोपिलाजुराएका थिए।
नागरिक दैनिकमा उनीसँगको सहकार्य सिकाइका वर्षहरू रहे। उनी प्रथम पृष्ठ बनाउँथे अनि प्रेस पठाउनुअघि हामी भित्री पृष्ठमा काम गर्नेहरूलाई प्रथम पृष्ठको टिप्पणी गर्न भन्थे।
चरित्रगत हिसाबले उनी मिलनसार, सहयोगी र रसिक थिए। यो कुरा उनीसँग काम गरेका सबैलाई थाहा छ। उनले स्पेसटाइम, राजधानी, नयाँपत्रिका, नागरिक हुँदै कान्तिपुरसम्मको यात्रामा कैयन रिपोर्टरका कैयन समाचार पुनर्लेखन गरेका छन्। जतिपटक पुनर्लेखन गरेर सुधारिदिए पनि अधिकांश रिपोर्टरले सिक्न नसकेको वा नचाहेकोमा भने उनको सधैं चिन्ता हुन्थ्यो।
हुन त डेस्कले रिपोर्टरप्रति गर्ने सदाबहार गुनासो हो यो।
नामीनामी रिपोर्टरसमेत लेखनमा कमजोर रहेको दृष्टान्त उनी दिइरहन्थे। तर तिनलाई सिक्न पनि हौस्याइरहन्थे।
रातको निद्रा, तातो भात, न्यायो ओछ्यान त्यागेर काममा खटिन्थ्यौं हामी। न नाम हुन्थ्यो न साह्रै उम्दास्तरको पारिश्रमिक नै। त्यसरी त्यागी हुनुको अर्थमा हामी डेस्कका साथीहरूले एकार्कालाई स्वामीज्यूभन्ने गरेका थियौं।

एकपटक राति कामबाट फर्कंदा कुमारीहलनिर बस्ने यादवलाई सुरुमा छाडिदियो ड्राइभरले। अनि सायद मलाई छाड्न चाबहिलतिर लाग्यो गाडी।
यादवले उनकी श्रीमतीलाई फोन लगाएछन् गेट बाहिरबाट। अनेक पटक फोन गरे तर फोन उठेन। आजित भएका यादवले बरु अघि छोडेर गएका ड्राइभरलाई फोन लगाए र आफूलाई छोडेको ठाउँमा लिन आउन भने।
ड्राइभर आए र यादवलाई लिएर अफिसतिर लागे।
त्यो रात यादव अफिसकै सोफामा सुतेछन्।
खासमा त्यो रात मस्त निद्रामा परेकी उनकी श्रीमतीले फोन बजेकै सुनिनछन्।
...

यादवको निधनपछि मेरो मनमा खट्केको एउटा कुरा भन्छु। जस्तो उनको मृत्युबारे कान्तिपुर दैनिकको समाचारमा लेखिएको थियोः चिकित्सकले नेपालमा भएका कुनै पनि औषधिले काम नगरेको परिवारलाई बताएका थिए। उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै परिवारले भन्यो, ‘नेपालमा भएका जति दबाइ र उपचार गर्ने प्रयास गर्यौं। तर उहाँलाई बचाउन सकिएन भनेर हामीलाई भन्नुभयो।
हो, यहाँनिर एउटा कर्मचारी बिरामी पर्दा अफिसले निरन्तर फलो नगरेको देखियो। बिरामी बिदा त दियो होला, सायद सानोतिनो अस्पतालले जाँचिदिनेसम्मको इन्स्योरेन्स पनि थियो होला।
हुन त कोही कामदार बिरामी हुँदा निरन्तर खोजखबर गरिरहन भनेर कर्मचारी नै कहाँ पालिएको हुन्छ र? तैपनि मनको एउटा खसखस।
समाचारको पेटबोली अनुसार पारिवारलाई डाक्टरले नेपालमा भएसम्मको उपायगरिएको बताएको थियो।
हुनलाई पञ्चतत्त्वले बनेको मानव शरीरको कुनै भरोसा हुँदैन भनिन्छ। कतिबेला मानवचोला भुर्र उड्छ, पत्तै हुन्न। तैपनि मन न हो, आस गरिहाल्छ।
सिद्धि पोलिक्लिनिक र केएमसीका डाक्टरको मानमर्दन गर्न खोजेको होइन। तर जसरी अलि ठूलाबडाले अलि नामी डाक्टरसँग मात्र जचाउँछन्, त्यसरी अलिक समय छँदै अलि विशिष्ट डाक्टरकोमा पुर्याई रोग पत्ता लगाएर कमसेकम दिल्लीसम्म लान सकेको भए उनी बाँच्न सक्थे कि? नेपालमा नभएको उपाय दिल्लीमा थियो कि? यो पक्षबारे कसैले विचार गरेजस्तो लागेन।
हो, यस्तो अवस्थामा बिरामी आबद्ध संस्थाको दायित्व के हुने? संस्थाले दिल्लीसम्म लगेर जचाउन पहल गर्नुपर्ने हो कि होइन?
सालाखाला पत्रकारको आम्दानी खासै गतिलो हुँदैन। उनीहरूको आर्थिक पृष्ठभूमि मजबुत हुन्छ भन्ने पनि हुँदैन। यस्तोमा कुनै रोगव्याधिले चाप्यो भने नेपालमा भएसम्मको उपचारमा खुम्चेर बस्नुपर्ने? , ‘जय नेपाल भन्दै मर्नुपर्ने?
कोही पनि श्रमजीवी पत्रकार बिरामी पर्दा यस्सो खोजखबर र निरन्तर सम्पर्कमा रहने संयन्त्र आबद्ध संस्था र पत्रकार महासंघको पहलमा हुन सके आगामी दिनमा यादवको नियति अरू पत्रकारले भोग्नुपर्दैनथ्यो कि? 
...
२०७० को त्यो चिसो रात यादव, तिमीले मृत्युलाई जितेका थियौ। र सायद हामी सबैले।
तर २०७५ को खड्गोलाई तिमीले टार्न सकेनौ। यसपटक हार्यौ तिमी। तर तिमीसँगका सहयात्रा, सहकार्य सधैं सम्झनामा बसिरहनेछन्।

Tuesday, May 28, 2019

हाम्रो तेन्जिङ शेर्पाले...

सन्तोष शर्मा

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैंजडी झम्केर नाच मुजुरा

सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो
हिमाल चुली खानीको विश्वमा झल्कने रत्न हो
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा


तेन्जिङ शेर्पा
१९१४ मे २९ (सोलुखुम्बु) –– १९८६ मे ९ (दार्जिलिङ)
सुनकोसीको मूलमा दिलको तिर्खा मेट्यो हो
हिलरीलाई भुल्याउँदै लुकेका बाटा देख्यौ हो
गाड्यौ झन्डा तेन्जिङले विश्वको अग्लो धुरीमा

डाँफेचरी आएर पंख खोली नाचे हुन्

हिमाल छोरो पाएर गौरीशंकर हासे हुन्
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा 

उँभो चुली कैलाशमा होइ पानी पिउनै पाएनौ
स्वर्गको शिर छुनलाई हार कत्ति खाएन
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

धन्य वीर बहादुर औतार तैले लिएको
नामको छोरो दुवैदिन बाँचन जन्म लिएको
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
चढ्यो हिमाल चुचुरा होइ चढ्यो हिमाल चुचुरा
चढ्यो हिमाल चुचुरा२
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा२
धर्मराज थापा

सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पामाथि धर्मराज थापाले उहिल्यै गीत बनाएर गाएका थिए । गीतमा तेन्जिङलाई नेपाली जाति या नेपाली वीरको संज्ञा दिइएको छ । यता, नेपालमा हामी तेन्जिङलाई आफ्नै जातिको, आफ्नै भूगोलका सपूत मान्छौं भने उता भारतमा पनि उनलाई खाँटी भारतीय हुन् भनेझैं गरी प्रचारप्रसार गर्ने गरिएको छ । सगरमाथा शिखरमा उनले भारतको झन्डा फहराए भनेर पनि भारतीय मिडियाले उल्लेख गरेका छन् । खासमा चुचुरामा नेपाल, भारत, ब्रिटेन र संयुक्त राष्ट्रसंघको झन्डा फहराइएको कुरा आरोहणपछि आरोहीद्वय द्वारा हस्ताक्षरित नाेटमा उल्लेख गरिएको छ ।
‘तपाईं नेपाली कि भारतीय ?’ तेन्जिङलाई धेरै सोधिएको प्रश्नमध्ये पर्छ यो ।
यसमा तेन्जिङले चलाखीपूर्ण उत्तर दिने गरेको ब्रिटिस लेखक म्यालकम बान्र्सले उल्लेख गरेका छन् ।
‘म नेपालको कोखमा जन्में र भारतको काखमा हुर्किएँ,’ बान्र्सले ‘आफ्टर एभरेस्ट’ नामक पुस्तकको भूमिकामा तेन्जिङलाई उद्धृत गरेका छन् । यो पुस्तक बान्र्स र तेन्जिङको सहकार्यमा तेन्जिङको अटोबायोग्रफीका रूपमा ४२ वर्षअघि लन्डनमा छापिएको थियो । यो पुस्तक छापिँदा उनले सगरमाथा टेकेको २० वर्ष भइसकेको थियो ।
राष्ट्रियताको ‘राजनीति’मा आफूलाई फसाउन खोजिएको कुरा उनले ठाउँठाउँमा उठाएका छन् । जस्तो, ‘टाइगर अफ द स्नोज’ पुस्तकमा तेन्जिङले भनेका छन्, ‘म के थिएँ– भारतीय, नेपाली, तिब्बती या अरू केही ? मेरो राष्ट्रियताबारे ३८ वर्षसम्म कहीँकतै कसैले चुइँक्क पनि बोलेनन् ।’ तर हिमाल चढेयता ‘राजनीति’ गर्न खोजिएको उनको भनाइ छ ।
एडमन्ड हिलरी र तेन्जिङ शेर्पा।
तेन्जिङलाई जीवनकालभरि पछ्याइरहेको अर्को प्रश्न हो, ‘शिखरमा टक्क पाइला कसले टेक्यो पहिले ? तपाईंले कि एडमन्ड हिलरीले ?’
‘पर्वतारोहीका लागि यो प्रश्नको खास महŒव छैन । किनकि पर्वतारोहण एउटा टिम वर्क हो । यसमा सिंगो टिमकै योगदान रहन्छ र टिम नै विजयी हुन्छ,’ तेन्जिङले भनेका छन् ।
यसै मेसोमा हिलरीलाई पनि धेरैपटक सोधिएको छ, ‘शिखरमा टक्क उभ्भिइरहेको तपाईंको तस्बिर खै त ?’
तेन्जिङसँग क्यामरा नभएको र उनले चलाउन पनि नजान्ने भएकाले आफ्नो फोटो नभएको भन्ने स्पष्टीकरण हिलरीले हजारपल्ट दिइसकेका छन् । ‘मेरो वचन नै प्रमाण हो,’ कतैकतै हिलरीलाई यसरी पनि उद्धृत गरेको पाइन्छ ।
चुचुरो चुमेपछि कस्तो अनुभव भइरहेको छ ?
‘म त सधैंभरि खुसी नै छु, सधैंभरि राम्रो नै छु,’ सगरमाथा चुचुरोबाट फर्केपछिको एउटा सम्मान समारोहमा तेन्जिङले भनेका छन् ।
‘फेरि शिखर चढ्ने कि नचढ्ने त ?’ यो प्रश्नले पनि तेन्जिङलाई लामो समय पछ्याइरह्यो ।
‘अहँ, अब चढ्दिनँ । मलाई चाह पनि छैन । पटकपटकको प्रयासपछि बल्ल पुगेको हुँ । यो आरोहण दोहो¥याउनुको अर्थ के त ? पहिलोचोटि जस्तो यो कहिल्यै हुनै सक्दैन,’ तेन्जिङले भनेका छन् । 
के तेन्जिङले एकैझमटमा सगरमाथा विजय गरेका थिए त ?
अवश्य थिएनन् ।
सातौं एक्सपिडिसनमा बल्ल सगरमाथा चुचुरो चुम्ने उनको सपनाले मूर्तरूप लिएको थियो ।
पहिलोपल्ट सन् १९३५ मा उनी ब्रिटिस एक्सपिडिसनमा गह्रुँगो भारी बोकेर २२ हजार फिटभन्दा माथि नर्थ कोलसम्म पुगेका थिए । लगत्तै अर्को वर्ष फेरि उनी नर्थ कोलसम्म त पुगे तर डरमर्नु मौसमका कारण फर्किनुप¥यो । तेस्रो एक्सपिडिसन पनि त्यस्तै भयो । चुचुराको दुई हजार फिटमुन्तिर रोकिनुप¥यो । सन् १९४७ मा चौथो एक्सपिडिसनमा त झन् पहिले पुगेजति उचाइमा पनि पुग्न सकेनन् ।
सन् १९५२ मा सरदार बनेर स्विस एक्सपिडिसनमा सामेल भए । जेनेभाका रेमन्ड ल्याम्बर्ट र उनी चुचुराको आठ सय फिटनजिक त पुगे तर डरलाग्दो हुन्डरीका कारण अघि बढ्न सकेनन् । सोही सालको शरद ऋतुमा छैटौं एक्सपिडिसन भयो । तर हातलाग्यो शून्य ।
पटकपटकका प्रयास असफल भए पनि उनले हार मानेनन् । किनकि उनी आफ्नो सपनासँग नजिकिँदै गइरहेका थिए । सपना साकार पार्न अनुभवले खारिँदै थिए । त्यही कारण त सन् १९५३ को ब्रिटिस एक्सपिडिसनमा न्युजिलन्डका एडमन्ड हिलरीसँगै चुचुरो पुग्न सके । तेन्जिङ भन्छन्, ‘पृथ्वीकै अग्लो ठाउँ त पुगें नै, साथसाथै मेरो महŒवाकांक्षाको सगर पनि ।’
चुचुराको अनुभव तेन्जिङले यसरी व्यक्त गरेका छन्, ‘हिउँको अग्लो थुप्रोमा एडमन्ड हिलरी र मैले हात मिलायौं । तलतिर देखिने अनेक चुचुरा, हिमनदी, हिम उपत्यका र बादलहरूतिर दृष्टि फ्याँक्यौं । पन्ध्र मिनेट चुचुरामा अडियौं । र, सम्झ्यौं तिनलाई, जो हामीभन्दा पहिले चुचुरा पुग्ने अभीष्ट राख्थे ।’
...

तेन्जिङ नोर्गे शेर्पा सोलुखुम्बुको थामे भन्ने ठाउँमा जन्मेका हुन् । बाबुआमाका तेह्र सन्तानमध्ये एघारौं ।
हिमाली छायाका चरनहरूमा याक डुलाउँदै उनको बाल्यकाल बितेको थियो । अठार वर्षको उमेरमा तेन्जिङ दार्जिलिङ हिँडेका थिए । दार्जिलिङमा मजदुर भएर उनले बीस वसन्त काटेका थिए ।
तेन्जिङको जन्म यसै साल यसै दिन भएको भन्ने यकिन छैन । तर उनकी आमाको खरायो वर्ष (तिब्बती पात्रोअनुसार प्रत्येक १२ वर्षमा आउँछ) मा जन्मेको भन्ने कथनका आधारमा सन् १९०२, सन् १९१४ र सन् १९२६ मध्ये केलाएर सन् १९१४ लाई कायम गरिएको हो । उनकी आमाले बालीनालीको अवस्था वर्णन गरेका आधारमा उनलाई मे महिनाको आखिरी दिनमा जन्मेको लख काटिएको हो । पछि, मे २९ मा आफूले शिखर चुमेकाले त्यसै दिनलाई तेन्जिङले आफ्नो जन्मदिन मान्न थाले ।
उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा दार्जिलिङमा भएको थियो । यसरी तेन्जिङको जीवनमा मे महिनाको विशेष महŒव छ । जन्म, सगरमाथा विजय र मरण ।
हिमाल आरोहणबाट फर्केपछि तेन्जिङले दार्जिलिङस्थित हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युट नामक संस्थाको फिल्ड टे«निङ निर्देशक भएर काम गरेका थिए । यो भूमिका उनलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले दिलाएका हुन् । नेहरूकै अगुवाइमा सो संस्था स्थापना भएको थियो । सन् १९५४ देखि सन् १९७६ सम्म त्यहाँ काम गर्दा उनले कैयौंलाई आरोहण तालिम दिए । तालिम दिने हिमाल भने दार्जिलिङनजिकैको कन्चनजंगा थियो ।
संस्था स्थापना गर्ने बेला नेहरूले भनेका थिए, ‘तेन्जिङ, अब तिमीले हजार तेन्जिङ जन्माउनुपर्नेछ ।’
पछि नेहरू बितेर गए तर आफूले उनले भनेझैं हजारै तेन्जिङ जन्माउन भने नसकेको तेन्जिङ स्विकार्छन् । ‘तर पनि भारतमा पर्वतारोहण परम्पराको विकास र विस्तारमा केही योगदान गर्न सकेझैं लाग्छ,’ तेन्जिङ भन्छन् ।
इन्स्टिट्युटले ६२ वर्षमा २५ सय विदेशीसहित ४५ हजार जनालाई तालिम दिएको उसको वेबसाइटमा उल्लेख छ । इन्स्टिट्युटमा तीन हजार हाराहारी पुस्तक रहेको पुस्तकालय र सन् १९५७ मा स्थापित पर्वतारोहण संग्रहालय पनि रहेको छ ।
‘आफ्टर एभरेस्ट’ पुस्तकको अन्त्यतिर तेन्जिङले आफ्नो सेवासुविधाबारे चरम असन्तुष्टि पोखेका छन्, ‘बाइसबाइस वर्ष सेवा गर्दा मैले निशुल्क आवास पाइनँ । हुन त मेरो आफ्नै घर थियो, सरकारी सेवामा हुनुको नाताले मलाई आवास भत्ता दिइनुपथ्र्यो । मैले यस्तो सुविधा माग्दा पनि मागिनँ र उनीहरूले अफर पनि गरेनन् ।’
मासुको भाउ दुई रुपैयाँबाट एघार रुपैयाँ पुग्दा पनि आफ्नो तलबमान सुरुकै स्तरको रहेको उनी बताउँछन् । ‘अरू कर्मचारीको तलबमान वृद्धि, भत्ता, पेन्सनका लागि मैले सुनुवाइ गरिदिएँ तर आफ्ना लागि मैले गुनासो गरिनँ,’ तेन्जिङ भन्छन्, ‘किनकि म भिखारी होइन ।’
नेहरू बितेर गएपछि उनीसँग भएका आजीवन सेवासुविधा, भत्ताका कुरा पनि खुइलिएर गएको तेन्जिङको भनाइ छ । अरू त अरू, सगरमाथा चढेर फर्कने इन्डियन एक्सपिडिसनको स्वागत÷सम्मान कार्यक्रममा समेत आफूलाई बोलाइन छाडेकोमा उनको चित्तदुखाइ देखिन्छ ।
यता नेपालमा, देश छाडेर भारतमा बस्न र काम गर्न गएको भन्दै सोलुखुम्बुका मानिस र राजा त्रिभुवनसमेत रिसाएको उनले अनुभव गरेका रहेछन् । ‘मैले नेपालका लागि केही गरिनँ रे,’ तेन्जिङ भन्छन्, ‘खासमा त्यो सत्य होइन । मैले भारतमा जति पनि काम गरें, शेर्पा समुदायकै लागि गरें । शेर्पाहरूलाई नै पर्वतारोहण तालिम दिएँ र उनीहरू नै प्रशिक्षकका रूपमा छन् ।’ कतिपयलाई थप तालिमका लागि स्विट्जरलन्डसमेत पठाएको उनी खुलाउँछन् ।
यात्राका क्रममा युरोप, अस्टे«लिया, न्युजिलन्ड, अमेरिका, रसिया या जापान, सबैतिर आफू शेर्पा भएरै प्रस्तुत भएको र ती ठाउँमा सोलुखुम्बु र त्यहाँका मानिसहरूबारे चर्चा गरेको उनले खुलाएका छन् ।
उनले पुस्तकमा सोलुखुम्बुमा पर्वतारोहण तालिम केन्द्र र फार्म हाउसको परिकल्पना गरेका छन् । ‘यसले मात्र सोलुका मानिसलाई आफ्नो परिवारसँगै गाउँठाउँमा बाँधेर राख्न सक्छ,’ उनको प्रक्षेपण छ, ‘नत्र शेर्पा समुदाय पातलिँदै जानेछ र भाषासंस्कृति पनि विलयनको बाटोमा हुनेछ ।’
गाउँ छाड्दै सहरबजारमा गएर बस्ने प्रवृत्तिले हिमाली शेर्पा जातिको भाषासंस्कृति, परम्परा मर्दै गएको भन्दै तेन्जिङले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, खुम्बु क्षेत्रमा शेर्पा युवामा पर्वतारोहण ज्ञान दिलाउने, त्यहाँ चाहिने खाद्यान्य त्यहीँ उत्पादन गर्ने अनि विद्यालय–अस्पताल खोल्नुपर्ने कुरा उनले चासोसाथ उल्लेख गरेका छन् ।
त्यही सोलु छोडेर ‘पहाडकी रानी’ भनिने दार्जिलिङमा आधा शताब्दी बिताएका तेन्जिङले पुस्तकमा दार्जिलिङको खुबै बखान गरेका छन् । नगरून् पनि किन ! कन्चनजंगा जो उनकै घरछेउको गाउँबाट छ्यांगै देखिन्थ्यो । कन्चनजंगा जो सगरमाथाभन्दा साढे आठ सय फिट मात्र होचो थियो । कन्चनजंगा जो संसारकै तेस्रो अग्लो हिमाल ।
त्यही दार्जिलिङमा न्यानो स्नेह दिने जवाहरलाल नेहरूलाई तेन्जिङ नजिकको मित्र अनि अभिभावक मान्थे । कुनै विषयमा परामर्श लिनुपरे वा सहयोग माग्नुपरे उनैलाई सम्झन्थे । एकपल्ट, हिमाल चढेर फर्केलगत्तै उनलाई एकजना हिन्दी फिल्मकर्मीले भेटे र फिल्म लाइनमा आउन आग्रह गरे । मोटो रकमको लालच पनि देखाए । 
त्यही विषयमा उनले नेहरूलाई दिल्लीमा भेटे । भेटपछि मोटो रकमको आग्रह सहजै लत्याउन सकेको तेन्जिङले उल्लेख गरेका छन् । ‘फिल्मतिर नलाग्ने मेरो निर्णयबाट पण्डितजी (नेहरू) पनि खुसी भए,’ तेन्जिङ भन्छन् । आफूले जस्तोसुकै समस्या लैजाँदा पनि नेहरूले झिँजो नमानेको उनी बताउँछन् ।
जस्तो, एकचोटि ब्रिटेन जाने बेला तेन्जिङसँग गतिला लुगा थिएनन् । त्यतिखेर पनि नेहरूकहाँ गए । नेहरूले उनलाई कपडा छान्न आफ्नो क्लोजेट खोलिदिए । तेन्जिङले सुरुवाल–कमिज र कोट झिकेर लगाए । ‘(पण्डितजी (नेहरू) र मेरो जिउडाल उस्तैउस्तै भएकोले लुगा टमक्कै मिल्यो,’ तेन्जिङले पुस्तकमा भनेका छन् ।
यता, काठमाडौंको राजदरबारमा भने हिमाल चढेकै मैलो लुगामा गएको उनले बताएका छन् ।
तेन्जिङले आफूलाई सधैं गरिब नै ठाने । ख्यातिको घमण्ड कत्ति पनि थिएन । ‘गरिब भए पनि मैले पैसाको मुख हेरिनँ,’ तेन्जिङ भन्छन्, ‘पैसा होस् या नहोस्, हिमाल नै मेरो जिन्दगी हो ।’
उनलाई बस्नलाई आरामदायी घर छँदैथियो । तैपनि हिमालबाट फर्केपछि एउटा पत्रिकाले उनलाई घर बनाउन सिमेन्ट, सिसा, काठपात आदिको अफर दियो । अर्को पत्रिकाले ठूलै रकम जम्मा गरिदियो ।
लौ अब के गर्ने ? लिने कि नलिने ? उनी दोधारमा परे ।
सल्लाह लिन फेरि नेहरूकहाँ पुगे । नेहरूले भने, ‘हेर तेन्जिङ, मानिसहरूले तिमीलाई माया गरेका छन् र त यति ठूलो सहयोग जुट्यो । उनीहरू धन्य छन् । तर यसरी संकलित रकम दान हो । मानौं, तिमीले यो रकम घरका लागि प्रयोग ग¥यौ । तर जब तिमी बूढो हुनेछौ तब मानिसहरूले भन्नेछन् कि तिम्रो घर पब्लिक डोनेसनबाट बनेको हो । त्यसो भनेको त्यतिखेर तिमीलाई मन पर्ने छैन । तिमीसँग अहिल्यै घर छ नि, किन त्यसलाई टालटुल गरेर आकर्षक बनाउँदैनौ ? त्यसकारण त्यो पैसा स्वीकार नगर ।’
तेन्जिङ झनै दोधारमा परे । पैसा नलिँदा जनताको अपमान हुने हो कि भनेझैं लाग्यो उनलाई । ‘संकलित रकमको सानो अंश आफूले लिएर बाँकी शेर्पा ट्रस्ट फन्डमा राखिदिएँ,’ तेन्जिङले भने, ‘ट्रस्टले शेर्पा महिला, बालबालिकाको शिक्षा एवं स्वास्थ्यमा सघाउ पु¥याउँछ ।’ तेन्जिङ सो संस्थाको प्रमुख थिए ।
पुस्तकमा उनले लामो पारिवारिक विवरण पनि पेस गरेका छन् । त्यस्तै, सगरमाथा चढेपछि दार्जिलिङस्थित आफ्नो सानो छरितो घरमा भिडभाड बढेको र मानिसहरू भए–नभएका नाता जोड्दै आएको उल्लेख गरेका छन् । घरको आकार बढाए तर पनि भिडभाड उस्तै रह्यो । आफ्नो घरबगैंचामा नचाहिँदा मान्छेको भिड जतिखेर पनि हुन थालेपछि घागडान टिबेटन कुकुर पालेको र त्यसले अलि शान्तसँग बस्न सकेको तेन्जिङले उल्लेख गरेका छन् ।
‘हो म प्रसिद्ध त थिएँ तर मान्छेहरू ठान्थे, म धनी छु र मसँग धेरै पैसा छ,’ उनको गुनासो छ, ‘न म पहिले धनी थिएँ, न अहिले छु । हिमाल चढेर धेरै पैसा कमाउन सकिने होइन ।’
उनले सगरमाथा चढेको दुई वर्षपछि सन् १९५५ अर्थात ६४ वर्षअघि अमेरिकाबाट प्रकाशित उनको अटोबायोग्रफी ‘टाइगर अफ द स्नोज’ मा उनले सफल आरोहणका कथासँगै काठमाडौं, कलकत्ता, दिल्ली, लन्डन र स्विट्जरलन्डमा मनाइएको उत्सव उतारेका छन् । सो पुस्तक जेम्स रामसे उलम्यानसँगको सहकार्यमा तयार भएको हो ।
नेपाली कि भारतीय भनेर राष्ट्रियताका विषयमा विवाद भइरहेका बेला तेन्जिङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई भनेको कुरा यो पुस्तकमा छ, ‘म नेपाललाई माया गर्छु । म यहीँ जन्में । मेरो देश यही हो । तर म लामो समयदेखि भारतमा बसिरहेको छु । मेरा बच्चाहरू उतै हुर्के बढे । र, मैले उनीहरूको शिक्षा र जीविकाको बारेमा पनि सोच्नुपर्छ ।’
मातृका र अरू मन्त्रीहरू असल र समझदार पाएको उनले उल्लेख गरेका छन् । उनीहरूले अरूले जस्तो दबाब नदिएको बरु ‘नेपालमै बस्न मन छ भने आवास, भत्ता, सम्मान आदिको व्यवस्था गर्न सकिने’ बताएको पुस्तकमा उल्लेख छ । ‘जहाँ बस्ने निर्णय गरे पनि तपाईंको खुसी र समृद्धिको कामना गर्छौं,’ तेन्जिङले उनीहरूलाई उद्धृत गरेका छन् ।
त्यतिखेर काठमाडौंबाट कलकत्ता उड्दा उनलाई राजा त्रिभुवनले आफ्नै निजी विमान उपलब्ध गराएका थिए । त्यसमा तेन्जिङको परिवार मात्र सवार थियो ।
सर्सर्ती हेर्दा तेन्जिङ सादगीझैं लाग्छन् । सोझो, सीधा अनि श्रममा विश्वास गर्ने । सगरमाथा चढेपछि उनी एकाएक सिलेब्रिटी भएका थिए । मानसम्मान अनि त्यतिखेर आफूवरिवरि मानिसको भिडभाड र मिडियाबाजीले उनी आत्तिए जस्ता पनि देखिन्छन् ।
‘आखिर जेजस्तो भए पनि म उही पुरानै तेन्जिङ हुँ,’ उनी भन्छन्, ‘सगरमाथा चढें त के भो, आफ्नो जिन्दगी आफैंले बाँच्नै छ ।’

उतिबेला छापिएको समाचार
आरोहीहरूको काठमाडौंमा सम्मान
२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौंमा सम्मान कार्यक्रम भयो ।
इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो । बनेपादेखि खुला जिपमा काठमाडौं ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो । बग्गीको दायाँ–बायाँ र अगाडि–पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाइएको थियो ।
सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो । एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट–फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो । घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा ग¥यो । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे । मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो । वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले ‘छ स्वागत, छ स्वागत नेपालपुत्र लायक’ बोलको गीत गाएर स्वागत गरे । ज्यादै आकर्षक ढंगले मञ्च सजाइएको थियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो ।

११ जेठ २०७६ अन्नपूर्ण पाेस्ट फुर्सदबाट

Sunday, April 7, 2019

शंकालुको अर्को नाउँ सम्पादक

सन्ताेष शर्मा
गोडापन्ध्रेक वर्षअघि म कान्तिपुर टेलिभिजनको समाचार कक्षमा काम गर्थें । स्टेसन स्थापनाको सुरुआती चरण थियो । 
समाचार टाइप गरिसकेपछि त्यसको प्रिन्ट बोकेर शरच्चन्द्र वस्तीको टेबलमा
जानुपथ्र्यो । वस्ती समाचार सम्पादक थिए ।
आफूले कनीकुथी गरेर साह्रै सुन्दर बनाएँ भन्ठानेको समाचार उनको कक्षबाट बाहिरिँदा फागु खेलिरहेको मान्छे जस्तो रङले लतपत हुन्थ्यो । 
उनी रातो, हरियो र सायद नीलो मसी पनि चलाउँथे । तर उनलाई जेल पेन नै चाहिन्थ्यो । त्यो पनि अलिक महँगो खालको । 
आफूले कत्ति न लामो पनि राम्रो पनि लेखेँ भन्ठान्थेँ । तर उनको टेबलबाट फर्किंदा समाचार ठुटो भइजान्थ्यो । आफूले मेहनत गरेर अनेक सूचना जुटाएर तयार गरेको समाचार ठुटो पारिदिँदा सुरुसुरुमा साह्रै चित्त दुखेको थियो । 
तर बिस्तारै बुझ्दै जाँदा त्यसरी कटनीमा परेको समाचार झन् सिँगारिएको भन्ने थाहा भयो । नचाहिँदा वाक्य, शब्द र कतिपय ठाउँमा प्रसंगसमेत हटाएर समाचारलाई चुस्त बनाइएको रहेछ । अझ माध्यम टेलिभिजन भएको हुँदा धेरै कुरा दृश्यले नै भनिरहेको हुन्छ । धेरै व्याख्या बयान आवश्यक नै नहुने रहेछ ।
सरल वाक्यमा सजिलै भन्न सकिने कुरालाई जटिल शब्द थोपरेर कर्कश बनाइरहेको हुन्थेँ । भ्रम कस्तो भने जति जटिल शब्द थुपार्‍यो, आफूले लेखेको त्यति नै उत्कृष्ट भयो भन्ने ।
हुन त म वस्तीको कक्षमा जानुभन्दा पहिल्यै पनि व्याकरण, भाषा, शैली आदिका हिसाबले राम्रो लेख्नुपर्छ भन्नेमा सचेत थिएँ । सकेसम्म गल्तीरहित सलल्ल बगेको लेखूँ भन्ने लाग्थ्यो । 
तर जब वस्तीको समीपमा पुगेँ, आफूमा धेरै कमीकमजोरी रहेछन् भन्ने महसुस भयो । त्यसपछि आफूले लेखेको र उनले जाँचेको कागज जतन गरेर राखेँ । दोहोर्‍याई तेहेर्‍याई हेर्ने र केलाउने गर्न थालेँ । 
त्यति बेलै मलाई थाहा भयो, भाषा सम्पादन भन्ने विधा पनि हुँदो रहेछ । अनि त्यसले समाचार, लेख, फिचर, विचार आदिलाई माझ्दो रहेछ र चम्काउँदो रहेछ ।
अनि, भाषा सम्पादनमा वस्ती जस्ता धारिला औजार पनि हुँदा रहेछन् भन्ने थाहा पाउँदा म अचम्भित भएको थिएँ । 
उनको एउटा विशेषता के भने समाचार वा लेखोटमा तिथिमिति या अंकसम्बन्धी कुरा छन् भने कागजको किनारातिर त्यसको जोडघटाउ गरेर ठीक छ कि छैन, जाँच्थे ।
त्यतिखेर कतिपयले उनलाई कम्प्युटरमा समाचार सम्पादन गर्न नसक्ने भन्दै कुरा काटे पनि । उनले पनि ‘ल अब म कम्प्युटरमै हेर्छु’ भने । 
तर मैलेचाहिँ सधैं उनको लतपत मसी नै चाहेँ । समाचारको प्रिन्ट बोकेर उनको टेबल धाइरहेँ । किनकि मलाई के–कसो गरेको, कता काटेको अनि कता जोडेको, के थपेको त्यो जान्नु थियो र थियो सिक्नु ।
मलाई आज पनि लाग्छ, उनको वैशिष्ट्य कागजमा मसीको लतपत नै हो । त्यसमै उनी खुल्छन् । र, काममा निखार दिन सक्छन् ।
मलाई भाषा सम्पादन पेसा हुन सक्छ जस्तो लाग्दैनथ्यो । त्यसैताका अजित बराल भाषा सम्पादनमा बहसपैरवी गरिहिँड्थे । त्यस्तैमा, सहपाठी महेश्वर आचार्यले बरालसँग भेटाइदिए । उनीहरूले छाप्न ठिक्क पारेको खगेन्द्र संग्रौलाको संस्मरण पुस्तक ‘सम्झनाका कुइनेटाहरू’ मेरो हातमा पारिदिए । 
म पनि के कम, रातो÷हरियो जेल पेन लिएर पुस्तकमा रङ भर्न थालेँ । केही दिनमा काम सक्काएर फर्काइदिएँ । 
बरालले ‘राम्रै गर्दारैचन्’ भनेर प्रतिक्रिया व्यक्त गरे र उनीहरूको प्रकाशनगृह फाइनप्रिन्टसँग सहकार्य सुरु भयो । र, त्यो सहकार्यले किसिमकिसिमका पुस्तक पढ्न, जाँच्न पाइयो । धेरै सिक्न पाइयो । 
नामी लेखक फोहोर लेख्छन् 
ह्रस्वदीर्घ, हिज्जे नमिलेको लेखनले सम्पादनमा बाधा पुयाउँछ र ढिलाइ पनि निम्त्याउँछ । पहिले त्यो मिलाएपछि मात्र पढ्न, कुरो बुझ्न सकिने हुन्छ । मैले पाण्डुलिपिमा पहिलो चरणमा त्यही मिलाउने काम गरेको हुन्छु । किनकि हिज्जे आदि मिलेको छैन, फोहर छ भने गुदी कुरा (कन्टेन्ट)मा पस्नै सकिँदैन । यो मेरो व्यक्तिगत अनुभव हो । तर, कहिलेकाहीँ हिज्जे र कन्टेन्टमा सँगसँगै काम गर्न नसकिने पनि होइन ।
यहाँनिर मलाई लेखक केदार शर्माको याद आउँछ । उनी सामाजिक सञ्जालमा बरोबर भनिरहेका हुन्छन्, ‘व्याकरणका सामान्यभन्दा सामान्य कुरा पनि नमिलाई लेखेको छ भने म त्यो ट्विट वा स्टेटस पढ्दा पनि पढ्दिनँ । जवाफ दिने त टाढाको कुरा ।’ अझ रोमनमा लेखेको छ भने उनी झनक्कै रिसाउँछन् ।
बुद्धिसागर राम्रा लेखक हुन् र रमाइला पात्र पनि । उनी जसरी लेख्छन्, कुनै घटना सुनाउनु परे त्यस्तै डिटेलिङसहित अभिनय गरीगरी प्रस्तुत गर्छन् । 
हिज्जे र अक्षरचाहिँ खुब बिग्रेका हुन्छन् उनका । एक चरण त्यो सच्याएर फेरि पढ्दा मात्र उनको लेखाइको आनन्द लिन सकेको अनुभव धेरैचोटि मैले गरेको छु । 
लेखकहरू हिज्जे र अक्षरका बान्की सुधारतिर लागे भने तिनको सिर्जनपक्षमा कमी आउन सक्छ पनि भन्छन् कतिपय । तर उम्दा लेखकले सही भाषा, हिज्जेमा लेख्न सक्नु पनि राम्रै खुबी हो । त्यसो हुने हो भने सम्पादक लेखाइको गुण र गुदीमा सहजै केन्द्रित हुन सक्छ । र, सिर्जनामा झन् निखार आउन सक्छ । 
नागरिक दैनिकमा सँगै हुँदाखेरिको कुरा । हामी नागरिक शनिबारका लागि काम गथ्र्यौं । अनेकन् लेख र समाचार केही घण्टामै हेरेर फाइनल गर्नु पथ्र्यो । हतारको त्यो क्षण बुद्धिको लेखाइको हास्य वा मर्म मेरो दिमागमा पस्दैनथ्यो । पत्रिका छापिएर घरमा आएपछि शनिबार पढ्थेँ र रोमाञ्चित हुँदै बुद्धिलाई फोन गर्थें । 
उनै बुद्धिसागरलाई मानिसहरू खालि कर्णालीको कुरा गर्‍यो, अमौरीखोला वरिपरि पाठकलाई घुमायो, बालापन मात्र लेखिरह्यो भनेर पनि आलोचना गर्छन् । तर मलाई लाग्छ— उनको वैशिष्ट्य नै त्यही हो र त्यसकै कारण उनी सम्झिइरहनेछन् । तर मलाई विश्वास छ— फरक सेटिङ र विषयवस्तुमा लेखेर उनले पाठकलाई कुनै दिन अवश्य चमत्कृत पार्नेछन् । 
सुरुसुरुमा सम्पादनको काम गर्दा लेखकले लेखेका आञ्चलिक शब्द म आफूले बुझिनँ भने फेरिदिन्थेँ । काठमाडौंमा जन्मेहुर्कें भन्दैमा आफूले यहीँ सुनेजानेका शब्दमात्र प्रयोग हुनुपर्छ भन्ने भ्रम ममा थियो । बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’मा काम गर्ने बेला लेखक केदार शर्मासँग परामर्शपछि थाहा भयो, त्यसो गर्न नहुने रहेछ । 
त्यसपछिका दिनमा मैले आञ्चलिक शब्दको प्रयोग अर्थ खुल्ने गरी चलाउन जोड दिन थालेँ । लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’ पढेपछि आञ्चलिकतामा सिर्जना गर्न हुने रहेछ भन्ने विश्वास आफूमा पलाएको भनेर अर्की लेखक शिवानी सिंह थारूले कतै भनेको सम्झन्छु ।
लेखक जतिसुकै चलेको किन नहुन्, शंका गर्न छोड्नु हुन्न । मलाई नामी लेखकले राम्रै लेख्छन्, सही नै लेख्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ । जसरी ग्रिक दार्शनिक सुकरातले प्रश्न गर्न युवा पुस्तालाई प्रोत्साहित गरेका थिए; त्यस्तै, सम्पादन गर्नेले सधैं शंका गर्ने र छड्केजाँच गर्नुपर्ने रहेछ । 
मलाई लाग्थ्यो, खगेन्द्र संग्रौला राम्रा लेखक हुन् । यसमा कुनै शंका थिएन र छैन पनि । उनी राम्रा अनुवादक पनि हुन् । यसमा पनि कुनै शंका थिएन र छैन पनि । तर उनले गरेको काममा सम्पादकको हैसियतले एकफेर शंका र छड्केचाहिँ चलाउनैपर्छ । 
‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तकमा ‘म्यागजिनमा गोली लोड’ गर्ने प्रसंगको अनुवाद ‘पत्रिकामा गोली’ हुन गएको थियो । अनुवाद जाँच्ने र भाषा हेर्नेबाट पनि त्यो चिप्लियो ।
मानिसहरूले त्यो प्रसंगको आलोचना स्वाद मानीमानी गरे तर बाँकी पक्षको सानदार अनुवाद भने च्वाट्टै भुलिदिए ।
यहाँनिर एउटा भनाइ याद आउँछ, विमानको हजारौं माइल सफल उडानको समाचार बन्दैन तर एउटा दुर्घटनाले हजार समाचार जन्माउँछ । 
सम्पादकको भूमिका पनि त्यस्तै हो । कतिपयले यसलाई अपजसे काम पनि भन्छन् । राम्रो होउन्जेल चर्चै हुन्न, मौनता कायम रहन्छ । न्यूनतम स्तरको धन्यवाद ज्ञापन पनि हुन्न । तर केही बिग्रेको खण्डमा आलोचना वर्षा । 
बेस्टसेलर ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक त्यसयता दसौं पटकसम्म हेर्ने र मिलाउने काम गरियो । कतिपय तथ्यगत भूल मूल कृतिमा समेत भएको हामीले पायौं ।
पाका लेखक÷अनुवादक खगेन्द्र संग्रौला हुन् या तन्नेरी अनुवादक दिनेश काफ्ले, सम्पादकले तिनको काममा शंका गर्नैपर्ने हुन्छ । 
संग्रौलाले ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’लाई ‘माइक्रोसफ्ट छोड्दै संसार बदल्दै’ टाइटल अनुवाद गरेका थिए भने बेन्यमिनको उपन्यास ‘गोट डेज’लाई काफ्लेले ‘बाख्रे जिन्दगी’ लेखेर बुझाएका थिए । तिनले लेखेका टाइटल न मीठा थिए न त भाषा सुहाउँदो । त्यसमा शंका गरियो र विकल्प खोजियो ।
लेखकहरूमा कुनै शब्दप्रति विशेष प्रीत हुन सक्छ । जस्तो खगेन्दाइ (संग्रौला) ‘गम खान’मा माहिर छन् । सिंगो पुस्तकभरिमा एकादुई ठाउँमा गम खानु ठीकै होला तर बीस ठाउँमा गम खानुचाहिँ अलि बढी नै हुन्छ । हो, यस्तोमा ख्याल पुर्‍याउनुपर्छ ।
लेखकमा बहकिने गुण हुन सक्छ । त्यो सामान्य हो । बहकिन दिनुपर्छ । तर त्यसलाई कति मात्रामा पाठकसम्म पुग्न दिने हो, पढ्नेले कतिसम्म पचाउन सक्छ, त्यसको निक्र्योल भने सम्पादकले गर्न सक्नुपर्छ । 
खगेन्दाइकै अर्को प्रसंग । उनको पुस्तक ‘आफ्नै आँखाको लयमा’ चाँड्चाँडै हेरेर सक्नुपर्ने प्रस्ताव आयो । मैले अलि लामो समय मागेँ । उनलाई के हतारो रैछ कुन्नि, ‘मेरो किताब मै सम्पादन गर्छु’ भने । 
उनैले फाइनल गरेको पुस्तक छापियो । भरमार गल्ती अनि टाइपोज देखिए । 
पछि कुनै एउटा कार्यक्रममा उनले ‘यो मेरो बुताको कुरा होइन रैछ’ भनेर सकारे पनि । 
यहाँनिर मलाई पेट्रिसिया फुलरको भनाइ याद आउँछ । उनी भन्छिन्, ‘सम्पादन वा संशोधनबिनाको प्रकाशन कट्टु मात्र लगाएर दोबाटो टहल्नु जस्तै हो ।’ सरल भाषा, छोटा वाक्य र कमभन्दा कम शब्दले कुरा बुझाउने हुनुपर्छ भनिन्छ भाषा । भाषा हेर्नेको मुख्य ध्येय नै त्यही हुन्छ । कसैकसैले भनेको सुनिन्छ पनि, सरल लेख्न गाह्रो । 
अनुवाद सम्पादन झन् जटिल कार्य हो । प्रथमतः अनुवाद नै जटिल काम हो । अनुवादकमा मूल भाषा र अभिव्यक्ति टक्क बुझ्न सक्ने सीप त चाहिन्छ नै । त्यसलाई उल्था मात्र होइन, अभिव्यक्त गर्न सक्ने कला पनि उत्तिकै जरुरी हुन्छ । अनुवाद सम्पादन झन् चुनौतीपूर्ण काम हो भन्ने लाग्छ । किनकि अर्को भाषामा लेखिएको कुरा जुन भाषामा आउने हो, त्यही भाषामा मूल रूपमा लेखिएझैं गरी ढाल्नुपर्छ । 
लेखक थरीथरी
एक लेखकले आफ्नो संघर्षका दिन, क्रान्ति, उपलब्धिका कुरा राखेर पुस्तक तयार गरे । पुस्तक ठीकठीकै हो । तर उनले एउटा कस्तो अध्याय पनि लेखेका रहेछन् भने त्यसमा उनको जन्मकुण्डली नै रहेछ । न्वारनको नाम, आफ्नो नामपछाडिको रहस्य, गोत्र, मावली खलक, ससुराली खलक आदिको विवरण । मैले उनलाई ‘पुस्तक अलि मोटो पनि भयो, यो अध्याय हटाऊँ’ भनी घुमाउरो पाराले सुझाएँ । तर उनले माने पो ! 
भने, ‘अर्को पुस्तक लेखिन्छ लेखिन्न कुन्नि, यो कुरा कहाँ छाप्ने फेरि ?’
अर्का एकजना लेखकले एउटा निबन्ध लेखे, ‘म यसकारण मोटरबाइक चढ्दिनँ ।’ 
लेखमा उनले मोटरसाइकलबाट हुनसक्ने स्वास्थ्य समस्या, ज्यानको जोखिम आदि इत्यादि प्रकट गरे । त्यसैकारण मोटरसाइकल कहिल्यै नसिकेको उल्लेख गरे । तिनै लेखकले एउटा अर्को संस्मरणमा मोटरसाइकलमा कुन्नि कसलाई घुमाएर कता हो लगेको प्रसंग राखे । 
संस्मरण छाप्ने बेला त्यही कुरा मैले लेखक मित्रलाई सम्झाएँ । तर उनले चुप लाग्न इसारा गरे ।
कल्पना कतिसम्म गर्ने र कल्पनाशील कतिसम्म हुने? कल्पना गरेको कुरा सत्यसँग मिलेन भने समस्या हुन्छ । जस्तो एकचोटि फिचर लेख्ने क्रममा एक मित्रले एउटा पुरानो प्रेमजोडीको अनुभव उतारेका थिए ।
उनीहरू रातभरि फोनमा कुरा गर्थे । बिल जतिसुकै उठोस्, उनीहरूलाई परवाह थिएन ।’
यो कुरा त्यतिखेरको थियो, जतिखेर काठमाडौंमा थोरै मात्र घरमा टेलिफोन हुन्थे । तर, फोन रातैभरि–दिनैभरि गरे पनि एकै कल गणना हुन्थ्यो । 
यो कुरा मलाई हेक्का थियो । र त मैले लेखकलाई सजग गराउन सकेँ र ‘अतिकल्पना’बाट रोक्न सकेँ ।
मलाई त्यो कुरा थाहा नभएको भए, या बिर्सेको भए त्यसमा सायदै शंका उठ्थ्यो । ‘फ्याक्ट चेकिङ’ त टाढाको कुरा । सम्पादनको कुरा गर्दा पृष्ठभूमिको पनि महŒवपूर्ण भूमिका हुँदो रहेछ, जस्तो हामी पहिले के काम गथ्र्यौं ।
एउटा पुस्तक सम्पादन क्रममा एकजना साथीले ‘स्क्रोल’लाई ‘स्कोर’ गराइदिएछन् । त्यही पुस्तक दोस्रोपल्टको सम्पादन मेरो जिम्मामा थियो । प्रसंग टेलिभिजन स्क्रिनमा तलपट्टि खुरुखुरु हिँडिराख्ने समाचार वाक्यबारे थियो, जसलाई स्क्रोल भन्छन् । टेलिभिजनमा काम गरेको मेरो अनुभवले त्यसलाई फ्याट्टै समाइहाल्यो ।
मलाई लाग्छ, भाषा सम्पादन कहिल्यै पनि पूर्ण हुँदैन । यो त एउटा प्रक्रिया जस्तो हो । जस्तो हामीले एउटा लेख या फिचर वा पुस्तक नै एक चरण सम्पादन गरेर सक्यौं भने के त्यो सधैंका लागि पूर्ण होला त ? 
अवश्य हुन्न । अर्कोपल्ट हेर्‍यौं भने यो–यो फेरूँ, यो–यो हटाऊँ, याँ–याँ, यो–यो थप्न पाए हुन्थ्यो जस्तो लागिहाल्छ ।
सुधार्नुपर्ने टाइपो र तथ्यगत भूल या असावधानीका कुरा त सामान्य नै भए । 
धेरै वर्षअघि अखबारमा आफ्नो नाममा फिचर छापिएपछि ‘यसलाई यस्तो गरेको भए हुने रहेछ’ भनेर साथी महेश्वर आचार्यसँग गनगन गर्दै थिएँ । त्यत्तिकैमा उनले भने, ‘यस्तो हुनु भनेको परिस्कारप्रतिको तीव्र चाह हो । राम्रो लक्षण हो । सुध्रनु हो ।’
यो कुरा आज पनि सम्झिराख्छु र चित्त बुझाउँछु । गल्ती हुनु सामान्य हो । महŒवपूर्ण कुरा, गल्तीको न्यूनीकरण हो । र हो, अर्कोपटक नदोहोर्‍याउनु, आगामी अंक वा संस्करणमा सच्याउनु ।
काम गर्दै जाँदा मलाई लाग्यो— सम्पादन भनेको निरन्तरको प्रक्रिया हो, निरन्तरको सिकाइ हो; जो मसिना–मसिना अनुभव, ज्ञान, सूचना अनि खोजको संगमले खारिँदै जान्छ ।
कोही पनि एक्लो व्यक्ति पूर्ण सम्पादक हुन सक्दैन । कुनै न कुनै पक्षमा ऊ कमजोर हुन्छ नै । अथवा उसले गरेको काम फेरि अर्को दिन उसैले हेर्‍यो भने त्रुटि देखिहाल्छ ।
फाइनप्रिन्टका प्रकाशक अजित बराल भन्छन्, ‘छापिएर आएको ताजा पुस्तक हेर्नै डर लाग्छ । आँखाले गल्तीहरू मात्र देख्न थाल्छन् ।’ सम्पादक समूह राखेर विषयवस्तुसँगै भाषामा काम गर्ने अभ्यास पनि चलिआएको छ । त्यसो गर्दा उत्पादन स्तरीय हुने आशा गर्न सकिन्छ ।
सुललित भाषा त्यस्तो डोरी हो जसले पाठकलाई कुनै पनि पठनमा बाँधिराख्छ । बलियो विषयवस्तु त हुनैपर्छ, सँगसँगै सम्प्रेषणीय । 
सम्पादनको अर्को नाम नै प्रयास हो भन्ने लाग्छ । सुधारको प्रयास, सपार्ने प्रयास ।
(अन्नपूर्ण पाेस्ट फुर्सदबाट)

Sunday, April 10, 2011

रुकुमका साथी

सन्तोष शर्मा 
केही दिनअघि मलाई पश्चिम नेपालको रुकुम जिल्ला घुम्ने अवसर मिलेको थियो । सबैलाई थाहै छ- माओवादी पार्टीले रुकुम/रोल्पा जिल्लाबाट सशस्त्र विद्रोह सुरु गरेको थियो ।
रुकुम पहाडी जिल्ला हो । त्यहाँ भर्खर मोटरबाटो बन्न थालेका छन् । दिनभर हिँडेर हामी स्यार्पु भन्ने ठाउँ पुगेका थियौं । स्यार्पुमा ठूलो अनि सुन्दर दह रहेछ । दहको नाम स्यार्पुदह । ४५ मिटर गहिरो छ रे यो दह । कत्ति गहिरो है ! सुन्दै डरलाग्दो । पौडी खेल्न नजान्दा यस्तो डर लागिरहँदो रहेछ । दह साढे २ वर्गकिलोमिटरमा फैलेको रहेछ । हामी पुगेको झन्डै एक महिनाअघि यही स्यार्पुदहमा ठूलो महोत्सव भएको थियो । सजावट सामग्री अझै देखिन्थ्यो वरपर ।
हामी धेरैबेर दहवरिपरि घुमिरह्यौं । फोटो खिचायौं । एउटा डुंगा रहेछ । हाम्रो समूहका आधाजति साथीले डुंगा पनि चढ्न भ्याए ।

Thursday, April 7, 2011

गुरिल्ला हिँडेको बाटोमा

सन्तोष शर्मा
घाम छिप्पिँदै गर्दा काँक्री छोड्यौं हामीले। काँक्री रुकुमको पहाडी बस्ती। हामीलाई बाग्लुङको ढोरपाटन पुग्नु थियो। दुई दिन ठमठम हिँड्ने साहस बोकेर चार जना लम्केका थियौं। हामीसँग साथी आएका थिए- काँक्रीका पृथ्वीबहादुर बुढामगर। चिटचिट पसिना काढ्दै बाकम, चिप्लेगैरा, ढक्रीबिसौना, मुन्दागैरा, गम्बीसौना, रिक्काछेरा जस्ता ठाउँ पार गर्‍यौं। उकालै उकालो। आहा, हिउँ देखियो! मन अलि सितल भयो तर जति उकालियो उति शरीरबाट पसिना बग्थ्यो।
रिक्काछेरा ३२ सय मिटर उचाइमा छ रे, पृथ्वीबहादुरले भनेका। त्यसपछि ओरालो सुरु भयो। ठाडो भीरमा घुमाउरो शैलीको गोरेटो कोरिएको रहेछ। हिँड्दा सन्तुलन नमिले गुल्टिने डर! तर लौरोको सहारा थियो।
लामो हिँडाइमा लौरो साँच्चिकै साथी बन्ने रहेछ। के उकालो, के ओरालो, के सम्म, हिँड्न निकै सघाउने रहेछ। तर खुट्टाको दुखाइ के मर्थ्यो? झन् ओरालो झर्दा घुँडा दुखेर हैरान।
अगाडिको सम्म ठाउँ देखेर मन अलि हल्का भयो। त्यो त किङवाङ उपत्यका रहेछ। किङवाङको अर्थ- माथि सरेको चौर!
त्यही चौरमा राम्रो स्याउ फल्छ रे सिजनमा। स्थानीयले सुनाए- माथि डाँडामा भुमेथान छ। वैशाख पूर्णिमामा वराहपुजा मेला लाग्छ।
फलनई, दिख्यु जस्ता ठाउँ टेक्दै गयौं। कति रमाइला हुन् डाँडा! कतै घाँसे डाँडा, कतै कोन आकारका रुखै रुखको जंगल। लौन नि, हिमालै पो देखियो!
अल्लि अघि हिउँ देखिनुको रहस्य बल्ल थाहा भयो- नजिकै चौरी हिमाल रहेछ। हाम्रो गोरेटोपारि दुई सुन्दर गाउँ देखिए- बाहिगाउँ र टकगाउँ। सकेसम्म बाटो घटाउने नीति लिएका हामी भने तल्लो सेरा, उपल्लो सेरा हुँदै हिँडिरह्यौं।